
राजेन्द्र सिंह साउद, बैतडी
बैतडी जिल्लाको सिगास गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम धमाधम रूपमा अगाडि बढाएको छ । गाउँपालिका शिक्षा शाखाले शैक्षिक सत्र २०७९ भित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी धमाधम रूपमा काम थालेको सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ।
नेपालको संविधानले स्थानीय पालिकालाई आधारभूत तहको तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । विगत २ महिना देखि गाउँपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएर काम गरिरहेको छ ।

समितिको संयोजकमा सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्ट रहनुभएको छ । उहाँको संयोजकत्वमा गठित समितिमा १ जना विज्ञ सहित विभिन्न विद्यालयका १७ जना शिक्षकको टिमले स्थानीय पाठ्यक्रम निर्माण कार्य धमाधम रूपमा अगाडि बढाइएको जनाइएको छ
यो समितिले कक्षा ८ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना बनाएको छ । चैत्र २४ गतेबाट स्थानीय पाठ्यक्रम (१–८) कार्यशाला सुरु गरी यसै महिना भित्र पाठ्यक्रम तयार पार्ने गरी उक्त टिम निरन्तर रूपमा अहोरात्र काम गरिरहेको शिक्षा अधिकृत रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ।
पाठ्यक्रममा पालिकाभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र सहित अन्य विभिन्न क्षेत्र पनि समावेश गरिने बताइएको छ ।
यसैबिच आज २८ गते सिगास गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरूका प्रधानाध्यापक बोलाई थप सल्लाह सुझाव सहित छलफल गर्ने कार्यक्रम रहेको जनाइएको । स्थानीय पाठ्यक्रम निर्माणको सहजीकरण भानुभक्त जोशी र शिक्षा अधिकृत रमेश प्रसाद भट्टले गरिरहेका छन् ।
