
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज ९बिहीबार० देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावन मार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रिय तर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । बिहिबारदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ ।
तथापि, अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले बताउनुभयो । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ ।
आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिक रुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् ।
