
डोटी : आगामी ३० गतेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयन दर्ताको समय तोकेको भए पनि डोटीमा गठबन्धनले अझै उम्मेदवार टुङ्गो लागाउन सकेको छैन ।
गठबन्धनको टुङ्गो नलागेका कारण उम्मेदवार छनौटमा समेत ढिला भइरहेको छ । पालिका भागबन्डामा कुरा नमिलेपछि चुनाबी गठबन्धन अनिश्चित भएको हो ।
जिल्ला र प्रदेशमा गठबन्धनको टुङ्गो नलाग्ने भएपछि निर्णयको लागि केन्द्रसम्मै पुगेको माओबादीका एक नेताले जनाए । गठबन्धनको लागि अन्तिम समयसम्म पनि छलफलमै भएकाले उम्मेदवार छनोटमा समेत ढिलाइ भएको नेपाली कांग्रेसका एक नेताले बताए ।
‘अहिलेसम्म गठबन्धनको भागबन्डा नमिलेका कारण अब गठबन्धन हुँदैन होला’, नेपाली कांग्रेसका उपसभापति बिजय खड्काले भने, ‘अब स्वस्थ प्रतिस्पर्धाबाट चुनावमा जानुको विकल्प छैन ।’ नेपाली कांग्रेसले आजै उम्मेदवारको टुङ्गो लगाएर भोलि मनोनयन दर्ता गर्छौं’ उनले भने ।

नेकपा माओवादी केन्द्रले पनि स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको छैन । माओवादी र नेकपा एकिकृत समाजबादी पनि गठबन्धनको निर्णय केही हुन्छ कि भनेर पर्खिरहेका छन् । उम्मेदवारको लागि पार्टीमा आन्तरिक तयारी भइसकेको भए पनि आज बेलुकासम्म टुङ्गो लगाएर भोलि मनोनयन दर्ता गर्छौं नेकपा माओवादीका जिल्ला इन्चार्ज शिब सिं ओलीले जानकारी दिए ।
भोलि मात्रै उम्मेदवारी
यता, दलहरुले समयमै उम्मेदवारको टुङ्गो लाउन नसकेपछि भोलिमात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनका दलहरु गठबन्धनमै अल्झेपछि उम्मेदवार छनोटमा ढीला भएका कारण मनोनयन भोलि गर्न थालेका हुन् ।
एमालेले समेत जोरायलल गाउँपालिका बाहेक बाँकी सबैमा भोलि नै मनोनयन दर्ता गर्ने भएको छ । थाहाखबरबाट साभार
