
डोटीको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले गाउँपालिकाका उपाध्यक्ष भगवती देवी बमलाई राजीनामा पत्र बुझाएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा पुनः बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा आफ्नो उम्मेदवारी रहने हुँदा पदबाट राजीनामा दिएको उनले बताए । माओवादी केन्द्र डोटी जिल्लाका संयोजक समेत रहेका गडसिला २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।


माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका बिचमा चुनावी तालमेल गर्ने सहमति भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष तथा वडा नम्बर १, ४, ५, ६, ७ माओवादी केन्द्रको भागमा परेका छन् भने गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ तथा ३ एकीकृत समाजवादीको भागमा परेका छन् । उम्मेदवारहरूले आज मध्याह्न १२ बजेतिर मनोनयन दर्ता गर्ने भएका छन् । निर्वाचन आयोगले मनोनयन दर्ताको समय आज साँझ ५ बजेसम्म तोकेको छ ।
