
डोटी : डोटीमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत नेकपा एमाले र नेपाली काँग्रेसले पोस्टर तथा झण्डाको तोरण बनाएर प्रचारप्रसार गरिरहेका छन् । सिलगढी बजार क्षेत्रमा नेकपा एमालेबाट दिपायल सिलगढी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा नम्बर ६ का वडा अध्यक्ष र सदस्यहरू पदका उम्मेदवारको तस्बिर भएको पोस्टर र चुनाव चिन्ह अङ्कित झण्डाको तोरण बनाएर सडक माथि टाँगेको छ ।

त्यस्तै नेपाली काँग्रेसले पनि सिलगढीमा नै पार्टीबाट नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा नम्बर ६ का वडा अध्यक्ष र सदस्यहरू पदका उम्मेदवारको तस्बिर भएको पोस्टर र चुनाव चिन्ह अङ्कित झण्डाको तोरण बनाएर सडक माथि टाँगेको छ ।


निर्वाचन आचारसंहिताले सार्वजनिक स्थानमा कुनै पनि दलले यस्ता कार्य गर्न रोक लगाएको छ । तर नेकपा एमाले र नेपाली काँग्रेसले भने आचारसंहिता विपरीतका कार्य गरेका छन् ।

यस्तै, जिल्लाका विभिन्न ठाउँमा पनि विभिन्न दलले निर्वाचन आचारसंहिता विपरीत तुल, ब्यानर, भित्ते लेखन, टिसर्ट, ज्याकेट, टोपी, झण्डा प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले सबै दललाई निर्वाचन आचारसंहिता विपरीतका काम तत्काल रोक्न निर्देशन दिएको बताउनुभयो ।

