
डोटी : डोटीमा निर्वाचन आचारसंहिता विपरीत विभिन्न पार्टीले सार्वजनिक स्थानमा राखेका प्रचारप्रसारका सामग्री हटाएका छैनन् । जिल्ला सदरमुकाम सिलगढी बजार क्षेत्रमा नेकपा एमाले, नेपाली काँग्रेस र एक जना स्वतन्त्र उम्मेदवारले पोस्टर तथा झण्डाको तोरण लगायतका प्रचारप्रसारका सामाग्री सार्वजनिक स्थानमा राखेको देख्न सकिन्छ ।
नेकपा एमाले र नेपाली काँग्रेसबाट दिपायल सिलगढी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा नम्बर ६ का वडा अध्यक्ष र सदस्यहरू पदका उम्मेदवारको तस्बिर भएको पोस्टर र चुनाव चिन्ह अङ्कित झण्डाको तोरण बनाएर बजार क्षेत्रका सडकमाथि टाँगेका छन् । त्यस्तै एक जना दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवारले पनि त्यस्तै कार्य गरेको पाईएकोे छ । यस्तो कार्य वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत हो ।
जिल्ला प्रशासन कार्यालय डोटीले पनि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न भन्दै यही वैशाख २१ गते सूचना सार्वजनिक गरेको थियो । “आचारसंहिता विपरीत राजनितीक दल, उम्मेदवार निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामाग्री प्रयोग गरेको पाइएमा त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवार बाटै तत्काल हटाउन लगाइने छ, प्रमुख जिल्ला अधिकारीबाट सार्वजनिक सूचनामा भनिएको छ ।”


तर सिलगढी बजार क्षेत्रमा रहेका आचारसंहिता विपरीतका प्रचारप्रसारका सामग्री हटाउनमा दलले भने आनाकानी गरेका छन् । “सार्वजनिक स्थानका आचारसंहिता विपरीतका कार्य नगर्न आग्रह गरेका छौँ प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टले भने, हामीले यसभन्दा अगाडी पनि त्यस्ता सामग्री हटाउन आग्रह गर्यौ, हामीले सोच्यौँ पार्टी तथा उम्मेदवारले हटाए होलान्, यदि हटाइएको छैन भने हामी पुनः हटाउन आग्रह गर्नेछौँ ।”
यस्तै, जिल्लाका विभिन्न ठाउँमा अन्य दलले निर्वाचन आचारसंहिता विपरीत तुल, ब्यानर, भित्ते लेखन, टिसर्ट, ज्याकेट, टोपी, झण्डा प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । यसतर्फ सरोकारवाला निकायले खास्सै ध्यान दिएको देखिँदैन ।
