दिपायल सिलगढी-७ ले आमाबुवा गुमाएका बालबालिकाहरूको पढाई खर्च बेहोर्ने
वडा नं ६ लाई धार्मिक ,सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र घोषणा गरिने

सुवास नेपाली
ज्येष्ठ ६, डोटी
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधि हरुले पद तथा गोपिनीयता शपथ लिई पदभार ग्रहण गर्ने बित्तिकै विभिन्न निर्णय गरिरहेका छन्।
यसै सन्दर्भमा दिपायल सिलगढी नगरपालिका वडा नं ७ ले पनि आफ्ना वडामा रहेका अभिभावक विहीन बालबालिकाहरूको लाग्ने पढाई खर्च बेहोर्न निर्णय गरेको छ।
आज पदभार ग्रहण गरे लगत्तै वडाको बैठक बसी सो निर्णय गरेको वडा नं ७ का वडा अध्यक्ष कर्ण विष्टले बताउनु भयो।

सो निर्णय अनुसार ७ नं वडामा आमा बुवा गुमाएका गरिब, विपन्न,अपाङ्ग ,दलित बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरी त्यस्ता बालबालिकाहरूलाई कलम कापी ,किताब ,झोला,पोसाक लगायतका सामाग्री ५ वर्ष सम्म उपलब्ध गराइने पनि अध्यक्ष विष्टले बताउनु भयो।
वडाको यस्तो निर्णयले अभिभावक गुमाएका आर्थिक अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकागरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

त्यसै गरी वडा नं ६ ले पनि विभिन्न ३ वटा निर्णय गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नं ६ भित्र जन्मेका बालबालिका तथा आमाहरुकालागि ३५ दिन भित्र पोषण भत्ता बापत २ हजार उपलब्ध गराउने निर्णय गरेको वडा नं ६ का वडा अध्यक्ष नरेश मलासिले बताउनु भयो।
ऐतिहासिक महत्त्व बोकेको सिलगढीलाई पर्यटन तथा सांस्कृतिक माध्यम द्वारा पहिचान गराउन जिरो प्वाइन्ट देखी इन्द्रचोक हुँदै पालिखाल पैयाभन्ज्याङलाई धार्मिक ,सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने र ५० वर्ष सम्म विवाह नगरी एकल बस्दै आएका महिलाहरू मापदण्ड बनाई अविवाहित एकल महिला भत्ता उपलब्ध गराउने निर्णय गरिएको पनि वडा अध्यक्ष मलासिले बताउनुभयो।

