गणेश मौनी, डोटी
जेठ २३,
डोटी जिल्लामा विभिन्न गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रमहरू सँग स्थानीय सरकारले हातेमालो गर्न नयाँ निर्वाचित जनप्रतिनिधीहरुले प्रतिबद्धता जनाएका छन् ।
सोमबार जिल्ला सदरमुकाम सिलगढीमा सामुदायिक विकास केन्द्र र समान पहुँच विकास केन्द्रले संयुक्त रूपमा आयोजना गरेको परियोजना परिचयात्मक कार्यक्रममा सहभागी जनप्रतिनिधि उक्त कुरामा जोड दिएका थिए ।
सामुदायिक विकास केन्द्र डोटी र समान पहुँच विकास केन्द्रले वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा डोटीको दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा प्राविधिक कार्यक्रम र बाल स्पोन्सर सिप परियोजना सञ्चालन गरिरहेको छ।
कार्यक्रममा साझेदार संस्थाहरूले कार्यक्षेत्रमा परियोजना अन्तर्गत विगतका वर्षमा गरेका क्रियाकलाप र आगामी वर्षमा गरिने कार्यक्रमको बारेमा जनप्रतिनिधिलाई जानकारी गराइएको थियो ।
गैरसरकारी संस्थाहरूले पालिकामा गर्ने सबै प्रकारका कार्यक्रमहरूलाई पालिकाले हातेमालो गर्नुका साथै पूर्ण रुमपा सहयोग गर्ने सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । उनले आगामी दिनमा पढाई शिविर मेला, स्थानीय पाठ्यक्रम निर्माण, बालमैत्री संरचना निर्माणमा संस्थासँग साझेदारी गरेर अगाडी बढ्नुपर्ने समेत बताए ।
आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले पनि विभिन्न संस्थाहरूले पालिकामा सञ्चालन गर्ने हरेक क्रियाकलापहरू स्थानीय सरकार सँग समन्वय गरी अगाडी बढ्नु पर्ने पालिकाको पूर्ण सहयोग रहने बताए । अध्यक्ष खड्काले आदर्श गाउँपालिकामा कार्यक्षेत्र भएका गैरसरकारी सङ्घ संस्थाहरूले जन प्रतिनिधिहरू सँग प्रत्येक ३÷३ महिनामा स्थानीय स्तरमा समन्वयात्मक बैठक गरी क्रियाकलापहरूको जानकारी गराउनु पर्ने समेत सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश जनप्रतिनिधीहरुले पालिकामा संचामलन हुने विभिन्न कार्यक्रमहरूलाई पूर्ण रूपमा सहयोग गर्ने बताएका थिए ।
संस्थाले विभिन्न पालिकामा कार्यक्रमहरू सञ्चालन गर्दा पालिकासँग समन्वय र सहकार्य गरेर सञ्चालन गर्ने गरेको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । उनले भने गैरसरकारी सङ्घ संस्थाहरू छुटै निकाय होइन सरकार सँग अनुमति लिई सरकारकै नीति तथा कार्यक्रमहरूमा सहयोग गर्ने सहयोगी निकाएको रूपमा हेर्नुपर्ने समेत बताए ।
कार्यक्रममा साझेदार संस्थाका कार्यक्षेत्रका चार वटै पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, जिल्लाका सरोकारवाला निकाय, पत्रकार नागरिक समाजको उपस्थिति रहेको थियो ।