
डोटीको दिपायल सिलगढी नगरपालिका-७ उडितोलामा चितुवा (बाघ)ले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । शुक्रवार बिहान साढे १० बजेतिर गाउँमा आएको चितुवा (बाघ) ले आक्रमण गर्दा स्थानीय पार्वती विक र उनकी छोरी लक्ष्मी बिक घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता, प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घर भित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको हो । घर भित्र छिरेको चितुवा केही बेर पछि मात्रै निस्किएको प्रहरी निरीक्षक जोशीले बताए । साथै चितुवा देखेर अर्का एक जना बेहोस भएको र अहिले उनको अवस्था सामान्य रहेको उनले बताए ।

चितुवाको आक्रमणमा परेकी ४५ वर्षीया पार्वतीको बायाँ हातको पाखुरा तथा टाउकोमा र उनकी ३ वर्षीया छोरी लक्ष्मीको घाटी र टाउकोमा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
यसरी दिउसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन् । अहिले जिल्ला प्रहरी कार्यालय डोटी र डिभिजन वन कार्यालय डोटीको टोली घटना स्थलमा गएको छ ।
