
डोटी : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पत्रकार महासङ्घ र पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले ६ बुँदे डोटी घोषणा गरेका छन् । आइतवार डोटी जिल्लाको दिपायलमा आयोजना गरिएको सुदूरपश्चिमका पत्रकारहरूको समसामयिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सहस्यहरुको उपस्थितिमा ६ बुँदे डोटी घोषणा गरिएको हो ।
घोषणा पत्रको पहिलो बुँदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सम्बद्ध सरोकारवाला पक्षसँग आग्रह गर्ने कुरा उल्लेख गरिएको छ । पत्रकार महासङ्घको सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको, पत्रकार आचारसंहिता पालना गर्न गराउन प्रतिबद्ध रहेको, केन्द्र, प्रदेश र जिल्लाको समन्वयलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको, स्थानीय, प्रदेश, सङ्घीय सरकार तथा अन्य सरोकारवाला निकायसँग पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक सहकार्य गर्न आग्रह गर्ने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै सुदूरपश्चिमको विकासका लागि खप्तड क्षेत्रको पर्यटन पर्बद्धन अपरिहार्य रहेका कारण खप्तडको समग्र विकासको लागि सुदूरपश्चिमको सञ्चार क्षेत्र सहकार्य गर्न तयार रहेको र प्राथमिकताका साथ योजना निर्माण तथा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग समेत गरिएको छ ।
घोषणा पत्रमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यहरू उत्तर विष्ट र भरत शाह, महासङ्घ सुदूर पश्चिम प्रदेश अध्यक्ष योगेश रावल, निवर्तमान केन्द्रीय सदस्य मीन बम, निवर्तमान प्रदेश अध्यक्ष अर्जुन शाह, कञ्चनपुर महासङ्घ अध्यक्ष माधव सिंह धामी, डोटी अध्यक्ष मोहन शाही, कैलाली अध्यक्ष हिमाल जोशी, डडेल्धुरा अध्यक्ष हिक्मत सिंह, बैतडी अध्यक्ष खगेन्द्र अवस्थि, बाजुरा अध्यक्ष छक्क मल्ल, दार्चुला सचिव लगायतले हस्ताक्षर गरेका छन् ।
