
डबल बम, डोटी
डोटीमा नागरिक आरोग्य अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको दिपायल स्थित होटेल घटालमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । आयुर्वेद स्वास्थ्यलाई स्थानीय जनसमुदाय समक्ष पुर्याउने उद्देश्यले नागरिक आरोग्य समिति तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख स्मृति चुनाराले जिल्लामा रहेका हरेक समुदायका मानिसहरूलाई आयुर्वेद स्वास्थ्य प्रति आकर्षित गर्दै सर्वसुलभ उपलब्ध हुने यश चिकित्सा पद्धतिलाई थप प्राथमिकता दिनुपर्ने बताइन् । आयुर्वेद स्वास्थ्यले रोगहरूको उपचार मात्रै नभई यसले मानिसको स्वच्छ जीवनशैली बनाउन सहयोग गर्ने भएकाले आयुर्वेद स्वास्थ्य पद्धति अपनाउनु पर्ने कुरामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख विद्या घिमिरे देउवाले जोड दिइन ।
नगरपालिका भित्र रहेका हरेक बस्ती तथा जन समुदायका मानिसलाई आयुर्वेद स्वास्थ्य बाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधाका लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि खड्काले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नगरपालिका भित्रका सम्पूर्ण वडाका स्वास्थ्यकर्मी, वडा अध्यक्ष, शिक्षक लगायत महिला स्वास्थ्य स्वंयमसेविकाहरुको उपस्थिति रहेको थियो ।
