
मोहन ठकुल्ला, डोटी
पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा भरत बहादुर कठायत चयन भएका छन् । शुक्रवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट कठायतको अध्यक्षतामा सात सदस्यीय शिक्षक अभिभावक सङ्घ गठन भएको हो ।सङ्घको सदस्यहरूमा सीता बि.क, सिस्ना जोशी, डम्मरी विष्ट, कृष्ण सोप, भक्तराज विष्ट र योगेश गुरुङ चयन भएका छन् ।

विद्यालयको पढाइ गुणस्तर राम्रो भए पनि व्यवस्थित खाले भवनहरू नहुँदा पठनपाठनमा समस्या हुने गरेको प्रधानाध्यापक केशव राज ओझाले बताए । यसै शैक्षिक सत्रबाट कक्षा ८ देखि १० सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्ययन अध्यापन हुने भएको छ ।कक्षा ८ भन्दा तल्लो कक्षामा गणित र विज्ञानलाई अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुने प्रधानाध्यापक ओझाले बताए ।


साथै साहित्यकार धनबहादुर मल्लद्वारा विद्यालयले पद्म पब्लिक दर्पण स्मारिका नामक पुस्तक विमोचन गरेको छ । उक्त पुस्तकमा उल्लेख गरे अनुसार वि.स. २००४ सालमा स्थापन भएको विद्यालयले शिक्षा क्षेत्रमा ठुलो योगदानका दिनुका साथै फड्को मारेको छ । वि.स २०१६ साल देखि कक्षा १० सम्मको पठनपाठन सुरु गरेको यश विद्यालयले वि. स. २०६६ सालबाट ११ र २०६७ सालबाट कक्षा १२ को पठनपाठन सुरु गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ बाट नेपाल सरकारले उक्त विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्नका लागि छनोट गरेको छ । चालू शैक्षिक सत्रबाट विद्यालयमा कक्षा १२ सम्म विज्ञान विषय पठनपाठन गर्ने योजना रहेको विद्यालयका सहायक प्रधानाध्यापक हिक्मत साहीले बताए ।
