कोरोन सङ्क्रमणका कारण हाल सम्म बिदशेमा २ सय ४३ नेपालीको ज्यान गयो
काठमाडौँ, भदौ २८
विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट शनिबार साँझसम्म नेपाल बाहिर विभिन्न १६ मुलुकमा २ सय ४३ जना नेपालीको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण यो हप्ता मात्र ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो ।
गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जना नेपालीको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख जानकारी दिएको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको त्यहाँ स्थीत नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतले जानकारी दिएका छन् । यो हप्ता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य समितिका अनुसार यो हप्ता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् ।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।