
डोटी : पुर्विचौकी गाउँपालिकाले करार कर्मचारीको करार अवधि नथप्ने भएको छ । असार ३२ गतेको गाउँ सभाको बैठकले कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको हो । गाउँपालिकाको कार्यालय, सबै वडाहरू, विषयगत शाखा तथा सेवा केन्द्रहरूमा करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नवीकरण नहुने भएको हो ।
कर्मचारीहरूलाई आफ्नो जिम्मामा रहेका नगद, जिन्सी सामग्रीहरू सम्बन्धित शाखा तथा कार्यालयहरूमा बुझाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
स्वास्थ्य तथा सामुदायिक स्वास्थ्य इकाईमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई एक महिना ज्यालादारीमा काम गर्न दिइने छ भने काडामान्डौ स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा रहेका कर्मचारीलाई काममा नआउन भनिएको छ ।

त्यस्तै सामाजिक सुरक्षा तथा पञ्जिकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सूचना प्रविधि शाखा, करार सेवामा कार्यरत एक जना सब इन्जिनियर, एक गाउँ एक प्राविधिकका प्रमुख, वडा नम्बर ६ का कृषि प्राविधिकहरू र बस तथा एम्बुलेन्स चालकहरूलाई दैनिक ज्यालादारीमा एक महिना मात्रै काम गर्न दिइने भएको छ । वडा नम्बर ६ का स्वयं सेवकको म्याद थप नगरीको गाउँपालिकाले जनाएको छ ।
विद्यालय, बाल विकास केन्द्र र सिएलसीमा कार्यरत शिक्षक तथा कर्मचारीको हकमा हाललाई कुनै पनि निर्णय नभएको गाउँपालिकाले जनाएको छ ।
यसअघि डोटीको सायल गाउँपालिकाले पनि कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सायल गाउँपालिकाले करार, अस्थायी र ज्यालादारीका कर्मचारीलार्ई यही साउन १ गते (आज) बाट काममा नआउन आग्रह गरेको छ ।

