धन बोहरा, डोटी
डोटीको सायल गाउँपालिकाको करार तथा ज्यालादारीका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका छन् । गाउँ कार्यपालिकाले गत असार ३१ गते करार, अस्थायी तथा ज्यालादारीका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय गर्दै साउन १ गते देखि काममा नआउन अनुरोध गर्यो । उक्त निर्णय उचित नभएको भन्दै करारका कर्मचारी आन्दोलित भएका हुन् ।
आन्दोलित करारका कर्मचारीले वडा नम्बर एकमा रहेको कौराडी स्वास्थ्य इकाईमा साउन ३ गते र वडा नम्बर एककै छपालिमा रहेको स्वास्थ्य केन्द्रको बाहिरी गेटमा शुक्रवार तालाबन्दी गरे । ताला खोल्न पटक पटक आग्रह गर्दा पनि गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आफूहरूसँग छलफल नगरेसम्म ताला नखोल्ने अडान उनीहरूले राखेको वडा अध्यक्ष लाल रोकायाले बताए । कामको मूल्याङ्कन नै नगरी गाउँपालिकाले आफूहरूलाई अन्यायपूर्ण तरिकाले हटाएको आरोप आन्दोलित कर्मचारीको छ । स्वास्थ्य इकाई मा तालाबन्दी भएको ५ दिन बितिसक्दा इकाई बाट हुने सेवा प्रभावित हुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।
उता गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले ताला खोल्ने प्रयास भइरहेको बताएका छन् । करार कर्मचारीको करार अवधि थप्ने वा नथप्ने भन्ने अधिकार गाउँ कार्यपालिकासँग भएकाले हटाइएका कर्मचारीले ताला लगाए सेवा प्रभावित गर्न खोज्नु अर्थहीन रहेको उनले बताए । उनले अगाडि थपे हामी पाँच वर्षको लागि पालिकामा आएका छौँ पाँच वर्ष पूरा भएपछि तालाबन्दी गरेर बस्न सुहाउँछ र ? त्यसैले ताला खोलेर सेवाग्राहीलाई सेवा दिन सहज बनाउन आन्दोलनकारी कर्मचारीलाई उनले अनुरोध गरे ।