डोटीबाट सरकारी डोल बडिमालिका प्रस्थान 

Sayalb

डोटी : डोटीबाट बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल गएको छ । शुक्रवार जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल जिल्ला प्रशासन कार्यालय डोटीले सिलगढीबाट पठाइएको हो ।

सिलगढीमा रहेको भैरवप्रसाद गण सैनिक टोली, सशस्त्र प्रहरी तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी तथा मालिका मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

सधैँ जसो  पूजाको सामान बाँधेर डोटीको सदरमुकाम सिलगढी बजार देखि पैदल मार्ग भई १५ दिनको यात्रा तय गरी बडिमालिका मन्दिर पुग्ने गर्दछन् । राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएअनुसार नै डोल पठाएको जिल्ला प्रशासन कार्यालय डोटीले बताएको छ ।

बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र भएका कारण जनै पूर्णिमाको समय उक्त मन्दिरमा भक्तजनको निकै घुइँचो लाग्ने गरेको छ ।

Shaileshwori
Loading...