
गणेश मौनी
साउन २६, डोटी
यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको बारेमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । आईपास नेपालको सहयोग स्वास्थ्य कार्यालय डोटीको सहकार्य र सामुदायिक विकास मञ्चले बिहीबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्यमा नागरिक समाजको सहकार्य बढाउने सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।
छलफल कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरूले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा आम नागरिकलाई जनचेतना जगाउनु पर्ने, प्रजनन स्वास्थ्यको विषयमा खुलेर सबै सँग कुराकानी गर्नुपर्ने, स्वास्थ्य सम्बन्धी गाउँ घरमा फैलाउने गरेका अफवाहहरूलाई चिरेर वास्तविक कुरालाई जानकारी गराउनु पर्ने, विद्यालय स्तरमा प्रजनन स्वास्थ्यको विषयमा जानकारी गराउनु पर्ने, आम नागरिकले प्रजनन स्वास्थ्यको विषयमा सकारात्मक धारणा बनाउनु पर्ने लगायतका धारणा राखेका थिए ।

सबै नागरिकका लागि परिवार योजना बनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डील्लीरमण जोशीले बताए । उनले भने परिवार योजनालाई सफल बनाउन परिवार नियोजनका साधनहरूको प्रयोग अनिवार्य हुने समेत बताए । कार्यक्रममा साधनहरूको प्रयोग, फाइदा, बेफाइदाको बारेमा व्यापक रूपमा छलफल गरिएको थियो ।
यौन तथा प्रजनन स्वास्थ्यको विषयमा जानकारी भए परिवार योजनालाई व्यवस्थित गर्न सकिने सामुदायिक विकास मञ्च डोटीकी सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना अधिकृत मधु पोखरेलले बताइन् । उनले भनिन् यौन तथा प्रजनन स्वास्थ्य भन्ने विषय दैनिक रूपमा आवश्यक पर्ने आधारभूत आवश्यकता जस्तै भइसक्यो त्यसैले आम नागरिकले यसको बारेमा जानकार हुन अति आवश्यक रहेको बताइन् ।
डोटी जिल्लामा क्रियाशील गैरसरकारी सङ्घ संस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा गैसस महासङ्घ, सामुदायिक विकास केन्द्र, दलित महिला सङ्घ, बास नेपाल, समाज सेवा डोटी, नेपाल रेडक्रस, शोभा सञ्जाल, वाक नेपाल, समान पहुँच विकास केन्द्र लगाएका सङ्घ संस्थाहरूको सहभागिता रहेको थियो ।
