जिल्ला अस्पताल डोटीमा उभिएरै कुर्नुपर्छ पालो, छैन बस्ने बेन्च

डबल बम, डोटी
जिल्ला अस्पताल डोटीमा बिरामी तथा बिरामीका कुरुवालाई बस्ने बेन्च नहुँदा समस्या भएको छ । अस्पतालमा आएका बिरामीले ओपिडी सेवा लिन लामो समय लाइनमा बस्नु पर्ने हुन्छ । सामान्य बेन्च समेत अस्पतालमा नहुँदा बिरामीले लामो समय सम्म उभिएर पालो कुर्नुपर्ने अवस्था छ । लामो समय लाइनमा उभिएर पालो कुर्दा समस्या भएको बिरामी भागा विष्टले बताइन् । “टाढा बाट आउँदा बाटोमै थाकेका हुन्छौँ उनले भनिन्, त्यसमाथि बिरामी मान्छे उभिनै गाह्रो हुन्छ ।”
यस्तै ईश्वरी जोशीले भनिन् “मेरो ढाड र खुट्टा दुखेको छ, यसैको उपचारको लागि अस्पताल आए यहाँ उभिनु परेको छ, अस्पतालमा सामान्य बेन्च समेत छैन ।” अस्पतालमा विभिन्न समस्या भएका बिरामी सेवा लिन आउने गर्दछन् । नियमित गर्भवती जाँच गर्न गर्भवती महिला,  उच्च रक्तचाप तथा क्षयरोग लगायतका बिरामी अस्पतालमा सेवा लिन आउने गरेको  जिल्ला अस्पताल डोटीका डाक्टर  सोहन कुमार शाहले बताए ।
अहिले  बर्खाको समय भएकाले पिउने पानीमा भल मिसिएको हुन्छ । उक्त पानी पिउँदा  मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या आउछन् । अहिले अस्पतालमा टाउको दुख्ने, ज्वरो तथा झाडापखालाका बिरामीको सङ्ख्या बढेको डाक्टर शाहले बताए । टाइफाइड, झाडापखाला, ज्वरो, रुघाखोकी बाट बच्न पानी उमालेर पिउने, काँचै खान मिल्ने खानेकुरा राम्ररी पखालेर मात्र खान सबैलाई उनले आग्रह गरेका छन् ।
Sayalb
Shaileshwori
Loading...