डोटीमा दुई दिने बाल भेलाको शुभारम्भ 

सिलगढी : डोटीमा दुई दिने जिल्ला स्तरीय बाल भेला कार्यक्रमको सुरुवात भएको छ । सिड नेपाल तथा वर्ल्ड भिजनको सहयोगमा जिल्ला समन्वय समिति डोटीले जिल्ला स्तरीय बाल भेलाको आयोजना गरेको हो । सोमबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सुरु भएको भेला सोमबार र मङ्गलवार दुई दिन सञ्चालन हुने छ । जिल्ला भेलाले नयाँ जिल्ला बाल क्लबको गठन गर्नुका साथै प्रत्येक पालिकाबाट बालबालिकाका सवाललाई उठाउँदै कार्य योजना तयार गर्ने छ ।
बाल क्लबले बालबालिकाको मनोबल बढाउन सहयोग गर्ने गरेको पूर्व डोटी जिल्ला बाल क्लबकी अध्यक्ष निशा मलासीले बताइन् । आफू सुरुमा बोल्न समेत डराउनेको गरेको अनुभव सुनाउँदै ७ कक्षामा पढ्दा देखि बाल क्लबमा जोडिएको र बाल क्लबले नै आफ्नो आत्मबल बढाएको उनले बताइन् । बाल क्लबका माध्यमबाट लडागडालाइ बालविवाह मुक्त वडा बनाउन, जिल्लामा भइरहेका बाल बिवाहा रोक्न समेत आफ्नो कार्यकालमा सफल भएको उनले बताइन् ।
बालबालिकाले आफ्नो हकहित तथा अधिकारका लागि डगमगाउन नहुने दिपायल सिलगढी नगरपालिका बालबालिका तथा महिला शाखा प्रमुख सानुमाया लिम्बूले बताइन् । बालबालिकाका कतिपय सवाल अझै ओझेलमा परेकाले ती सवालहरूको उजागर गर्न जागरूक हुनुपर्ने उनको भनाइ छ । आफ्नो शाखाबाट बालबालिकाको हकहितका लागि हुने कार्य गर्न आफू पछि नपर्ने र समस्या ल्याएर शाखामा आउन उनले अनुरोध गरिन् ।
Sayalb
बालबालिका सम्बन्धीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको बारेमा बालबालिका सचेत रहनु पर्ने जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भोला कुमार भट्टले बताए । आफ्नो स्थान र अधिकारी सुनिश्चित गर्दै सही र गलत जानेमा बालबालिकाको भविष्य राम्रो हुने उनले बताए ।
बालबालिकालाई साथले असर गर्ने गरेको जिल्ला समन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनाराले बताइन् । राम्रो नराम्रो छुट्याउदै हक र अधिकारका लागि सङ्घर्ष गर्न बालबालिका पछि पर्न नहुने उनले बताइन् । बाल बिवाहा, छाउपडी प्रथा लगायतका कुसंस्कार हटाउन बाल क्लबको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ । अभिभावक छोराछोरीले भनेको मान्ने भएकाले पनि बालबालिकाले कुप्रथा हटाउन आफ्नै घरबाट पहल गर्ने बेला आएको बताइन् ।
समाज रूपान्तरण गर्नमा बाल क्लबको  महत्त्वपूर्ण भूमिका रहने जिल्ला समन्वय प्रमुख लक्ष्मण सिंहले बताए । बालबालिका अहिले काँचो माटो जस्तै भएकाले राम्रो बन्न तर्फ अग्रसर हुन उनले बालबालिकालाई आग्रह गरे । अभिभावकले पनि बालबालिका प्रति राम्रो अभिभावकत्व निर्वाह गर्नु पर्ने उनले बताए । समन्वयको तर्फबाट हुने जस्तो सुकै काम र सहयोग गर्न आफू तयार रहेको उनले बताए ।
Shaileshwori
Loading...