
डोटी र डडेल्धुरामा पहिलो पटक सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को लागि प्रयोगात्मक परीक्षा ट्रायल भोली हुने भएको छ ।
यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार ट्रायल उद्घाटन गर्न कार्यक्रम रहेको छ । दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

यातायात व्यबस्था कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायका अनुसार भोलि सुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल उद्घाटनको कार्यक्रम रहेको जनाएका छन् । यातायात डडेल्धुरामा पहिलो पटक सञ्चालन भएको ए, के र बी वर्ग अर्थात मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको जनाए । ‘कार र जीपका लागि ४३ जनाले लिखित परीक्षा दिएकोमा २७ जना उत्तिर्ण भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि १ सय १७ जनाले लिखित परीक्षा दिएकोमा १०६ जना उत्तिर्ण भएका छन्,’ निमित्त कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए ।
उनका अनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै भोलि नै परीक्षणकालीन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीमा राखिएको थियो ।
