
कर्ण चन्द भाद्र १६, डोटी
डोटी जिल्लाका तिन स्थानीय तहका मुक्त हलियाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । जिल्लाका सायल गाउँपालिका, दिपायल सिलगढी र शिखर नगरपालिकाकाका दुई सय ३० बालबालिकालाई सहयोग गरिएको हो ।
सम विकास केन्द्र नामक एक गैर सरकारी संस्थाले आर्थिक अवस्था कमजोर रहेका सायल गाउँपालिकाका ४८, दिपायल सिलगढी नगरपालिकाका ६८ र शिखर नगरपालिकाका एक सय चार बालबालिकालाई सहयोग गरिएको छ । मुक्त हलिया परिवारका बालबालिकाको पढाइमा सहज गर्ने उद्देश्यका साथ कापी, कलम, पोसाक, झोला र औजार बक्स सहयोग गरेको हो । प्रति विद्यार्थी दुई हजार दुई सय ५६ गरी पाँच लाख १८ हजार आठ सय ८० रुपैयाँ बराबरका सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक शङ्कर विकले बताए ।
सम विकास केन्द्रको सहयोगले मुक्त हलियाका बालबालिकालाई पढाइमा सहज हुने गाउँपालिका अध्यक्ष जोशीले बताए । जोशीले भने ‘मुक्त हलियाको आर्थिक अवस्थामा अझै पनि सुधार आउन सकेको छैन , परिवारको अवस्थाको सिधा असर बालबालिकामा पर्ने गर्दछ फलस्वरूप विद्यार्थीको पढाइमा समस्या हुने गर्दछ यो सहयोगले उनीहरूको पढाइमा सकारात्मक प्रभाव पार्नेछ ।’
सायल गाउँपालिकाले मुक्त हलियाको विषयलाई नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरेको छ । जोशीले भने ‘ हामीले सानै परिणाममा भए पनि बजेटमा समावेश गरेका छौँ, हाम्रो उद्देश्य भनेको समतामूलक समाजको निर्माण गर्नु हो ।’
कक्षा छोड्ने बिद्यार्थिहरुमा मुक्त हलियाका बालबालिकाको सङ्ख्या ठुलो भएका कारण पनि पढाएको निरन्तरताका लागी मुक्त हलियाका बालबालिकालाई सहयोग प्रदान गरिएको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिहिले बताए । उनले भने ‘मुक्त हलियाका बालबालिका बिशेषगरी बालिकाको पढाई निरन्तरताका लागी संस्थाले शैक्षिक सामग्री सहयोग गरेका छौँ ।’
मुक्त हलियाको अवस्था सुधारका लागी तिनै तहका सरकारले काम गर्न आवश्यक रहेको मुक्त हलिया समाजको पूर्व केन्द्रीय अध्यक्ष डम्मर विकले बताए । विकले भने ‘हलिया आन्दोलनका कयौँ विषय अझै समाधान हुन सकेका छैनन् । सरकारले केही काम त गर्यो तर त्यति मात्रै पर्याप्त छैन । बालबालिकालाई प्रदान गरिएका शैक्षिक सामाग्रीले सकरात्मक प्रभाव पार्नेछ भन्ने हामीलाई बिश्वास छ ।’
मुक्त हलियाको सवाल स्थानीय तहको विषय भएकाले हलिया पुनर्स्थापना तथा स्थिति सुधारका लागी काम गर्नु पर्ने दायित्व रहेको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले बताए । उनले भने ‘ हलियाको हक अधिकारमा स्थानीय तह र गैर सरकारी संस्था मिलेर काम गर्न आवश्यक छ ।’ एक्सन एड नोराडको सहयोगमा सम विकास केन्द्र नेपालद्वारा सञ्चालित नेपालमा कृषिमा आधारित बदुवा श्रमको अन्त्य परियोजनाले मुक्त हलियाका समस्यामा केन्द्रित रहेर काम गर्दै आएको छ ।


