सुदूरपश्चिम सरकारले गौराको अबसरमा दिएको बिदा हटायो
सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा दिएको बिदा हटाएको छ। वैशाख १ गते प्रकाशित प्रदेश राजपत्रमा गौराको अवसरमा प्रदेश सरकारले भदौ १७ गते बिदा दिएको थियो। तर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै उक्त बिदा हटाएको जनाएको हो । भदौ ९ गते बसेको मन्त्रीपरिषद बैठकले उक्त बिदा हटाउने निर्णय गरेको सूचनामा उल्लेख छ । गौराको अवसरमा संघीय सरकारले १८ गते बिदा दिएको उक्त दिन भने शनिबार नै परेको छ । यस्तै आजदेखि गौरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ।
बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ । आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न तथा गेडागुडी गहत, केराउ, गुरास, मास तथा गहुँ विधिपूर्वक भिजाउने काम गरिन्छ। आजको दिन स्नान तथा पूजा गरेर बिरुडाका लागि छुट्याइएको अन्न तामा अथवा पित्तलको भाडोमा राखेर भिजाउने कार्य गरिन्छ । पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षम्म गरेको कष्टसाध्य तपस्यापश्चात वरदान पाइ महादेव अर्थात शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यताअनुसार गौरापर्व मनाइदै आएको पाइन्छ । भगवान शिव र पार्वतीको पूजा आराधना एबम् ब्रत अनुष्ठानबाट सुस्वास्थ्य एबम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहदै आएको छ ।
यस अघी गौरा पर्वको अबसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्बजनिक बिदा भनी यस अनलाईनमा प्रकाशित समाचार सच्चाईएको छ ।