
अनन्त: सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा बिदा दिएको छ । चौतर्फी विरोधपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै बिदा दिएको जनाएको छ ।
प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो । सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोध भएको थियो । प्रदेशभर बिदा नदिइएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सुदूरपश्चिम सरकारको चर्को आलोचना भएको थियो ।
वैशाख १ गते प्रकाशित प्रदेश राजपत्रमा गौराको अवसरमा प्रदेश सरकारले भदौ १७ गते बिदा दिएको थियो । तर यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै उक्त बिदा हटाएका थिए ।
गौराको अवसरमा सङ्घीय सरकारले १८ गते बिदा दिएको छ । उक्त दिन भने शनिवार परेको छ ।


