अन्तरजिल्ला स्तरीय असल अभ्यासको आदान प्रदान

गणेश मौनी
भाद्र २५, डोटी
जिल्लामा गरेका असल अभ्यासहरूको आदान प्रदान गर्दै अन्तरजिल्ला स्तरीय सुरक्षा तथा समन्वय बैठक बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा शुक्रवार सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरूको सहभागितामा सम्पन्न समन्वय बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदान प्रदान गर्नुका साथै सबै जिल्लाका साझा सवालहरूको बारेमा व्यापक छलफल गरी बैठक सम्पन्न भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

बैठकमा सबै जिल्लाको साझा सवाल राजमार्ग सञ्चालन, अन्तरजिल्ला स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपत् व्यवस्थापन, लागु औषध नियन्त्रण, आसन्न निर्वाचनलाई सहयोग लगाएका विषय बस्तुको बारेमा छलफल गरिएको समेत प्रतिअ श्रेष्ठले बताइन् ।
समन्वय बैठकले एक अर्को जिल्ला बिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग मिलेको डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । बैठकमा चाडबाडको समयमा शान्ति सुरक्षालाई व्यवस्थित गर्ने, सीमा नाकामा हुने घटनाहरूको बारेमा समन्वय गर्ने, चोरी तस्करी नियन्त्रण गर्ने लगायतका विषय बस्तुको बारेमा समेत छलफल भएको प्रतिअ जोशीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्य सचिव नारायण प्रसाद ढवाडीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल बहादुर ढकाल, सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको समन्वय बैठकमा वित्थडचिर गाउँपालिका बझाङले व्यवस्थापनमा सहयोग गरेको थियो ।
