
डोटी : ५८ औँ राष्ट्रिय बाल दिवस डोटीमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका साथ जिल्लाका स्थानीय तह तथा विभिन्न सङ्घसंस्था र विद्यालयहरूले छुट्टाछुट्टै तथा संयुक्त रूपमा विविध कार्यक्रम गरेर दिवस मनाएका हुन् ।

सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको आर्थिक सहयोग र एक्सनएड नेपालको समन्वय, सहकार्यमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र सायल गाउँपालिकाले पनि बाल दिवस मनाएका छन् । बालबालिकाको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न र उनीहरूको क्षमताको विकास गर्ने उद्देश्यले बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता, वादविवाद, हाजिरी जवाफ र सांस्कृतिक कार्यक्रम गरिएको सम विकास केन्द्र (इडिसी) नेपाल डोटीका कार्यक्रम संयोजक शङ्कर विकले बताए । प्रत्येक विद्यालय हुँदै वडा स्तरबाट छनोट भएर आएका बालबालिका बिच विभिन्न कार्यक्रममा प्रतिस्पर्धा गराइएको पनि उनले बताए ।


तिन वटा पालिकामा पालिका प्रमुख तथा अध्यक्षको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएका थिए । प्रतियोगितामा प्रथम, दृतिय र तृतीय भएका प्रतियोगीलाई पुरस्कार दिएको छ । राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष भाद्र २९ गते मनाइन्छ ।

