
अछाम : शुक्रवार दिउँसो देखि परेको अविरल वर्षाका कारण अछाम जिल्लामा १७ जनाको मृत्यु भएको छ । ६ जना अझै बेपत्ता छन् भने ११ जनाको उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोमा परि मृत्यु हुनेमा तुर्माखाद गाउँपालिका वडा नम्बर ५ का ४ जना, कमलबजार नगरपालिका वडा नम्बर ६ का ७ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ का ५ जना र ढकारी गाउँपालिका वडा नम्बर ६ का एक जना रहेका छन् । बेपत्ता हुनेमा तुर्माखाद गाउँपालिका वडा नम्बर ५ का पाँच जना र ढकारी गाउँपालिका वडा नम्बर ६ का एक जना रहेका छन् ।
कमलबजार नगरपालिका वडा नम्बर ६ का ७ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ का एक जना र ढकारी गाउँपालिका वडा नम्बर ६ का तीन जना घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयको आग्रहमा गृह मन्त्रालयले घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाएको थियो। केही घाइतेलाई उपचारको लागि हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ ।
आज बेपत्ताको खोजी र घाइतेको उद्धार र उपचार गर्ने विषयलाई प्राथमिकता दिएको बताइएको छ।
