८ औँ संविधान दिवस डोटीमा पनि मनाइयो 

किरण धामी, डोटी
८ औँ संविधान दिवसका अवसरमा डोटीमा विविध कार्यक्रम गरिएका छन् । जिल्ला समारोह समिति डोटीले पनि दिवसका अवसरमा प्रभात फेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दिवसका अवसरमा सोमबार बिहान साढे ७ बजे इन्द्रचोकबाट सुरु गरिएको प्रभात फेरि दिपायल सिलगढी नगरपालिकाको सभा हलमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । ७ वर्ष अघि आजकै दिन संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा आज दिवस मनाइएको हो ।
देशमा लिखित कानुन जारी भए पनि लिखित कानुनको कार्यान्वयन असमान रहेको स्थानीय महेन्द्र श्रेष्ठले बताए । धनी र गरिबले पाउने न्यायको बारेमा कुरा राख्दै देशमा वर्गका आधारमा कानुनको पालना हुने गरेको उनको भनाइ छ ।
२०७२ को संविधानलाई टेकेर देश सङ्घीयतामा गएको र सङ्घीयता लागू भएपछि देशमा तीन तहका सरकार आएपछि जनतालाई सेवा लिन सहज भएको गैरसरकारी संस्था महासङ्घ डोटीका अध्यक्ष लाल बहादुर विकले बताए । २०७२ मा जारी भएको संविधान २०७४ मा कार्यान्वयनमा आए पनि स्थानीय तहको पहिलो कार्यकालको ३ वर्षमा आवश्यक नीति, ऐन कानुन निर्माण गर्न नसकेको प्रति उनले दुखेसो पोखे ।
Sayalb
देशका सबै पक्ष तथा नागरिकले आफ्नो जिम्मेवार ग्रहण गर्दै कर्तव्य बोध गरेमा संविधानको कार्यान्वयन हुने दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिंह खड्काले बताए । अरूलाई मात्रै दोष थुपार्ने नभई सबैले आफ्नो कर्तव्य सम्झिएमा मात्रै सुशासन कायम हुने उनले बताए ।
संविधानको सफल कार्यान्वयनका लागि राजनीतिक व्यक्तित्व, राष्ट्रसेवक कर्मचारी लगायत सबै सरोकारवाला वर्गले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । जो जहाँ नि फरक व्यक्तिको भूमिका फरक हुने भए पनि सबैको उद्देश्य र गन्तव्य एउटै भएको उनले बताइन् ।
संविधानले सबैलाई समेटेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंहले बताए । केही समुदाय पिछडिएको भए पनि पिछडिएको वर्ग तथा समुदायलाई संविधानको पहुँचमा पुर्‍याउने गरी काम गर्नु पर्ने बताए । संविधान भन्दा माथि कोही नहुने र कसैले त्यो दुस्साहस गरे  दुर्घटना हुने उनले बताए ।
जिल्ला न्यायाधीश शिवलाल पाण्डे प्रमुख अतिथि रहेको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख लक्ष्मण सिंह रहेका थिए । कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि खड्का विजय, समन्वय उपप्रमुख स्मृति चुनारा, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कल्पना साउद, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,  भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानी जनमत कार्की, जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमला, सशस्त्र प्रहरी प्रमुख, शिक्षक विद्यार्थी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...