
किरण धामी, डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले दसैँ तिहार लगायतका चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन तीव्र पारेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय डोटीको संयोजनमा सिलगढी बजार संयुक्त अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुणा नियन्त्रण डिभिजन कार्यालय डोटी, नापतौल तथा गुणस्तर कार्यालय डोटी र घरेलु तथा साना उद्योग कार्यालय डोटी र दिपायल सिलगढी नगरपालिकाको साझेदारी जिल्ला प्रशासनले बजार अनुगमन गरेको हो ।

चाडपर्वको बेला बजारमा कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दै एकाधिकार र मूल्य वृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत रमा कुवरले बताइन् । बजार अनुगमनको सिलसिलामा केही व्यापारीले सहयोग गरेको भए पनि केही व्यापारीले असहज वातावरण सिर्जना गरेको उनले बताइन् ।


सिलगढी बजार भर आज २० देखि २५ हजार बराबरका अखाद्य वस्तु बरामद भएको खाद्य प्रविधि तथा गुणा नियन्त्रण डिभिजन कार्यालय डोटीका प्राविधिक सहायक सागर सापकोटाले बताए । बरामद गरिएका सामाग्रीमा सबै भन्दा बढी मसलादार सामान रहेको उनले जानकारी दिए । केही व्यापारीले पसल दर्ता नै नगरी सञ्चालन गरेको पाएकोले दर्ता गर्न सुझाव दिइएको र केही पसलमा लेबल नै नराखी सामग्री बेचेको पाइएकाले सम्झाइ बुझाइ गरिएको अनुगमन टोलीका एक सदस्य जीवन शाहीले बताए । अहिले सम्म दिपायल बजार, केआइसिंह गाउँपालिकाको वायल र सिलगढी बजार अनुगमन गरिएको छ ।



