
डोटी : पहिरो खस्दा डा. के.आइ.सिंह राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवामा मङ्गलवार साँझ पहिरो आउँदा उक्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला डोटी, बाजुरा र अछामबाट तराइ जाने र तराईबाट यी जिल्लामा भित्रिने दर्जनौँ सवारी साधन तथा यात्रु अहिले बीचबाटोमै अलपत्र परेका छन् । डडेल्धुराको सीमामा पर्ने अवरुद्ध सडक आज अबेर भएकाले खुलाउन नसकिएको र बुधवार बिहानबाट मात्रै सडक सुचारु हुने डडेल्धुराबाट खबर आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
