
डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले बजार अनुगमनका क्रममा बरामद भएका सामग्री नष्ट गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला, राजपुर र सिलगढी बजार अनुगमनका क्रममा बरामद भएका रु ९९ हजार दुई सय ४५ रुपैयाँ बराबरका म्याद नाघेका तथा लेबल नराखिएका सामग्री नष्ट गरिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय डोटीले खाद्य प्रविधि तथा गुणा नियन्त्रण डिभिजन कार्यालय डोटी, नापतौल तथा गुणस्तर कार्यालय डोटी र घरेलु तथा साना उद्योग कार्यालय डोटी र दिपायल सिलगढी नगरपालिकाको साझेदारी गरेको अनुगमनका क्रममा बरामद गरिएको सामग्री बुधवार नष्ट गरिएको नासु जीवन शाहीले बताए ।


चाडपर्वको बेला बजारमा कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दै एकाधिकार र मूल्य वृद्धिलाई नियन्त्रण गर्न विभिन्न बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । चाडपर्वको बेला बजारमा किनमेल गर्नेको भिडभाड हुनेभएकोले ठगिन सक्ने कुरालाई ध्यान दिन उपभोक्तालाई प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आग्रह गरिन् ।

बरामद गरिएका सामाग्रीमा सबै भन्दा बढी मसलादार सामान रहेका छन् । अनुगमनका क्रममा केही व्यापारीले पसल दर्ता नै नगरी सञ्चालन गरेको पाएकोले दर्ता गर्न सुझाव दिइएको र केही पसलमा लेबल नै नराखी सामग्री बेचेको पाइएकाले सम्झाइ बुझाइ गरिएको प्रशासनले बताएको छ ।
