डोटी : सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड–शैलेश्वरी गोल्ड कप २०७९ कैलालीले जितेको छ । डोटीको सिलगढी स्थित टुँडिखेलमा सोमवार सम्पन्न भएको फाइनल खेलमा कैलालीले श्री भैरव प्रसाद गणलाई २-० को गोल अन्तरले पराजित गरेको हो । जितसँगै कैलालीले नगद रु १ लाख तथा ट्रफि पुरस्कार प्राप्त गरेको छ । कैलालीसँग हार व्यहोरेको श्री भैरव प्रसाद गणले द्वितीय हुँदै नगद रु ५० हजार तथा ट्रफि पुरस्कार पाएको छ ।
शनिवारबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलको खेलमा कैलालीले डडेल्धुरालाइ र श्री भैरव प्रसाद गणले डोटीलाई हराउँदै फाइनलमा पुगेका थिए । हिन्दु नेपालीहरुकोे महान् चाड दसैँको अवसरमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सञ्चालन भएको गोल्ड कप फुटबल प्रतियोगितामा ६ वटा टिम सहभागी भएका थिए ।
गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि कैलालीका सुरेन्द्र रानाले प्राप्त गरेका छन् । प्रतियोगितामा कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ डोटी, भैरव प्रसाद गणका टिम सहभागी रहेका थिए ।