
सुवास नेपाली
असोज १४, डोटी
विजया दशमी तथा दिपावलिको उपलक्ष्यमा सिलगढीको इन्द्रचोकमा सिलगढी सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । भैरव प्रसाद गण र समता एक्सन ग्रुपको संयुक्त आयोजनामा तथा सुदूर पश्चिम कलाकेन्दको समन्वयमा उक्त कार्यक्रम हुने भएको हो ।

स्थानीय कला संस्कृतिको जगेर्ना यसको संरक्षण संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले १६ गते फूलपातीका दिन ३ बजे देखि सञ्चालन हुने कार्यक्रममा देउडा गीत,गीत,भुवा,हुडकेलि,पुतला नाच लगायतका प्रस्तुति रहने भैरव प्रसाद गणका गणपति जनमत बहादुर किर्किले बताउनुभयो ।
उक्त कार्यक्रममा जिल्लाका ख्यातिप्राप्त गायक ,गायिकाहरूको बेजोड प्रस्तुति रहने गणपति किर्किले बताउनुभयो । पछिल्लो समय डोटी स्थित भैरव प्रसाद गणले खेलकुद,कला संस्कृति जगेर्ना ,समाज सेवा लगायतका कार्यमा आफ्नो सक्रियता बढाए सँगै जनताको मन जित्दै सैनिक नागरिक सुमधुर सम्बन्ध स्थापित गर्न ठुलो सहयोग गरेको दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासिले बताउनुभयो ।
