किरण धामी, डोटी
आसन्न निर्वाचनलाई लक्षित गरी डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शनिवार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमला तथा निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकरण पन्त लगायतको उपस्थितिमा प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवलाल पाण्डेले कार्यालयको उद्घाटन गरेका हुन् । यही असोज २० गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्नु पर्ने निर्वाचन आयोगको निर्देशन अनुरूप जिल्ला अदालत डोटीको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत पाण्डेले बताए ।
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा डोटी जिल्लाका एक लाख २४ हजार ८ सय ७० जना सहभागी हुने भएका छन् । जम्मा मतदातामा ६५ हजार ७ सय ३५ महिला र ५९ हजार एक सय ३५ जना पुरुष रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि जिल्लामा एक हजार ३ सय १६ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकरण पन्तले जानकारी दिए ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा ६ वटा मतदान केन्द्र थप भएका छन् । आदर्श गाउँपालिकामा ३, शिखर नगरपालिका, के.आइ.सिंह गाउँपालिका र सायल गाउँपालिकामा एक/एक मतदान केन्द्र थप भएका हुन् । ६ मतदान केन्द्र थप भए सँगै जिल्लामा जम्मा मतदान केन्द्रको सङ्ख्या एक सय ७७ भएको छ । जिल्लामा एक सय १५ मतदान स्थल रहेका छन् ।