
डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४ को वडा कार्यालयले दैनिक मजदुरी गरिखाने वर्गका परिवारलाई खाद्यान्न वितरण गरेको छ । असोज २३ गते बसेको वडा समितिको निर्णय बमोजिम वडा भित्रका ३५ परिवारलाई खाद्यान्न सामग्री र चुहिने घर भएका परिवारलाई त्रिपाल वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० को पारित कार्यक्रम शीर्षकबाट रकम खर्च गर्ने गरी प्रति परिवार दुई हजार बराबरको सामग्री वितरण गरिएको वडा अध्यक्ष अशोक कुमार सोपले जानकारी दिए । असोज १९ गते रातिबाट परेको अविरल वर्षाका कारण मर्कामा परेका परिवारलाई केही सहजता होेस भन्ने हेतुले राहत स्वरूप उक्त सामग्री वितरण गरिएको अध्यक्ष सोपले बताए ।

वितरण गरिएको सामग्रीमा प्रति परिवार २५ किलो चामल, २ किलो दाल, एक किलो नुन र एक पोका तेल रहेको छ ।

