
डोटी : पूर्वमन्त्री प्रेम बहादुर आले मगरले संसदीय निर्वाचनमा आफू अन्तिम पटक भाग लिइरहेको बताएका छन् । एक मात्र प्रतिनिधि सभा रहेको डोटीबाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता आलेले गठबन्धनले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । बुधवार दिपायलमा भएको पत्रकार सम्मेलनमा चार पटक संसदीय चुनावमा भाग लिइरहेको बताउँदै आलेले आगामी दिनमा आफू सामाजिक कार्य जस्ता कार्यमा संलग्न हुने बताएका हुन् ।

पूर्वमन्त्री आलेले सहजपुर देखि बोगटान, दिपायल हुँदै उर्यभञ्ज्याङसम्म सडक बनाएरै छोड्ने दाबी गरेका छन् ।“मेरो अर्जुन दृष्टि भनेको धनगढी देखी उयैभञ्ज्याङसम्म सडक पुर्याउने हो, आलेले भने, यो सडक बनेमा चिन तथा भारतका व्यापारी यहाँ आउँछन्, यो क्षेत्र व्यापारिक हब हुने छ ।”
काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायर देशलाई चाहिने नेता रहेको सम्मेलनमा उनले भनेका छन् । आलेले डोटीमा गठबन्धनले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताउँदै सभापति बलायरलाई जिताउन आफू हर सम्भव प्रयास गर्ने बताएका छन् । गठबन्धन केपी ओलीको असंवैधानिक कदमका विरुद्धमा बनेकाले असंवैधानिक कदमको विरुद्धमा उभिँदै गठबन्धनका उम्मेदवारलाई जिताउन आलेले जनतालाई आग्रह गरे ।
