
डबल बम, डोटी
दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ६ स्थित टुँडिखेलमा आइतबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कृत्रिम घटना अभ्यास गरी मनाएको छ । “सबैका लागि बहुप्रकोपीय पूर्व सूचना र कार्य” मूल नारा रहेको उक्त कार्यक्रममा अकस्मात् आउने विपद्को जोखिमलाई कसरी समाधान गर्ने भनेर आगलागीको सेमुलेसन देखाइएको थियो ।
विपद् आउँदा सुरक्षित रहन, विपदमा परेका पीडित तथा घाइतेको शीघ्र उपचार गर्नुपर्ने जस्ता कुरा सेमुलेसनमा देखाइएको थियो । आकस्मिक आउने विपदमा नेपाल प्रहरी, दमकल तथा स्वास्थ्यकर्मी, एम्बुलेन्सलाई तत्काल खबर गर्नुपर्ने कुरा देखाइएको थियो । कहिँकतै घटना घटेमा उद्धार तथा राहतमा स्थानीय सरकारले छिटो छरितो लाग्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका मेयर बाजि सिंह खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलेले विपद्को समयमा जति सक्दो छिटो उद्धार तथा राहतको लागि जिल्ला विपद् व्यवस्थापन खट्नुका साथै नेपाल प्रहरी, स्वास्थ्य संस्थाले ढिलासुस्ती गर्न नहुने बताइन् । उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी डोटीको सहयोगमा गरिएको हो । अन्य सहयोगी संस्थाको रूपमा विभिन्न सङ्घसंस्था, रुद्र ध्वज गण सिलगढी, नेपाल शस्त्र प्रहरी गण ३६ नम्बर बाहिनी अड्डा, दिपायल सिलगढी नगरपालिका–६, नेपाल प्रहरी, दिपायल सिलगढी नगरपालिका थिए ।
