
किरण धामी, डोटी
निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति डोटीले आग्रह गरेको छ । बिहीबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अनुगमन समितिले जिल्ला स्थित सबैलाई आग्रह गरेको हो ।
जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति संयोजक एवं मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जिल्लाका सम्पूर्ण पक्षले आचारसंहिताको पूर्ण पालना गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि, सञ्चारमाध्यम तथा पत्रकार, निजामती कर्मचारी, शिक्षक लगायतलाई आचारसंहिता अध्ययन गर्न आग्रह गर्दै सोही अनुसार पालना गर्दै निर्वाचन सफल पार्न आफ्नो भूमिका निभाउन अनुरोध गरे । चुनाव प्रचार प्रसार गर्दा एउटा उम्मेदवारले दुई वटा सवारी साधन मात्रै प्रयोग गर्न पाउने भएका छन् । बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र जुलुस, आमसभा, कोण सभा वा भेला गर्न र कम्तीमा चौबिस घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउन भनिएको छ ।


कुनै पनि प्रकारका प्रचापम्प्लेट सार्वजनिक रूपमा राख्न/टाँस्न नपाइने तथा दलको झन्डा र चुनाव चिन्हको तोरण बनाएर राख्न नपाइने भएको छ । तर डोटीका धेरै ठाउँमा उक्त आचारसंहिता विपरीत पार्टीका झन्डाका तोरण तथा पम्पलेट टाँसिएको कार्यक्रमका सहभागीले बताएका थिए । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका सह–संयोजक तथा प्रमुख जिल्ला अधिकारी कल्पना क्षेष्ठले ती पार्टीका झन्डाका तोरण तथा पम्प लेट तुरुन्त हटाउन अनुरोध गरिन् । आचारसंहिता अनुगमन समितिले अनुगमका क्रममा त्यस्तो भेटाए कारबाही गरिने क्षेष्ठले बताइन् । निर्वाचन शान्त भयरहित वातावरणमा सम्पन्न गर्न सबै निकाय तथा व्यक्तिको भूमिका रहने भएकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी क्षेष्ठले आग्रह गरिन् ।

उम्मेदवारले आचारसंहिता विपरीतका कार्य गरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार रु. एक लाख जरिवानाका साथै उम्मेदवारी नै रद्द हुन सक्ने अनुगमन समितिले बताएको छ । कुनै पनि कर्मचारी राजनीतिक दल अथवा उम्दवारको चुनावी प्रचारप्रसारमा गए विभागीय कारबाही गरिने मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । अनुमति विना कुनै पनि सवारी साधन चुनावी प्रचार प्रसारमा प्रयोग गरेको पाइएमा प्रहरीले नियन्त्रण लिने अधिकृत पाण्डेले बताए । कार्यक्रममा जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति संयोजक एवं मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

