
चार दिन मनाइने यो वर्षको छठ पर्व सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भएको छ । कार्तिक शुक्ल चतुर्थीमा सुरु हुने यो पर्व सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुन्छ । कार्तिक शुक्ल षष्ठी तिथिको साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालुले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका हुन् ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतालुले यो व्रत सुरु गर्छन् । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्छन् । षष्ठीमा व्रतालुले दिनभर निराहार व्रत गर्छन् ।
साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन् । षष्ठीका दिन निराहार व्रत गरी बेलुकी अस्ताउँदो र सप्तमीको बिहान सूर्यको पूजा–आराधना गरी अर्घ्य दिँदा दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।
