
डोटी : मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय डोटीले जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । शनिवार पत्रकार तथा सञ्चारमाध्यमले पालना गर्नु पर्ने आचारसंहिता तथा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जिल्लामा पार्टी तथा उम्मेदवारले आचारसंहिता पालना गरे नगरेको बारेमा सबै पालिकामा अनुगमनलाई तीव्र पारिएको बताए । धेरै ठाउँमा आचारसंहिता विपरीत पार्टीका झन्डाको तोरण बनाउने लगायतका कार्य भएको पाइएको र ती कार्यलाई सच्याउन लगाएको पनि अधिकृत पाण्डेले बताए । निर्वाचन सम्पन्न गर्ने सबैको दायित्व हुन आउने र पत्रकार तथा सञ्चारमाध्यमको पनि त्यत्तिकै भूमिका रहने पनि पाण्डेले बताए ।


निर्वाचन प्रचारप्रसारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य पार्टीले अनुमति नलिएको बताएका छन् । निर्वाचन आचारसंहितामा एक जना उम्मेदवारले दुई ओटा सवारीसाधन अनुमति लिई प्रचारप्रसारमा प्रयोग गर्न सक्नेछन् । तर जिल्लामा पार्टीका उम्मेदवारहरू बिना अनुमति सवारीसाधनको प्रयोग गरिरहेका छन् । प्रचारमा अनुमति बिना सवारीसाधनको प्रयोग गरेको पाइएमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए । पहिलो पटक भेटिएमा सम्झाई बुझाइ गर्ने र दोस्रो पटक भेटिए सवारीसाधन जफत गर्ने उनले बताए । प्रहरी प्रमुख धमलाका अनुसार अहिलेसम्म बिना अनुमति चुनाव प्रचारमा प्रयोग भएका ४ ओटा सवारीसाधनलाई सम्झाई बुझाइ गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पत्रकार जनता र सरकार बिचको सूचना आदानप्रदान गर्ने पुल रहेको बताइन् । उनले आसन्न निर्वाचन सफल बनाउन पत्रकारले भूमिका खेल्नेमा विश्वस्त रहेको बताइन् । तथ्यमा आधारित सूचनाका आधारमा समाचार सम्प्रेषण गरिदिन पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अनुरोध गरिन् । त्यसको लागि सहजीकरण गर्न आफूहरू तयार रहेको उनले बताइन् ।

