
किरण धामी, डोटी
डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बुधवार(आज) बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्कँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
भूकम्पले स्थानीय पदम बोहराको घर भत्किँदा बोहराका ४० बर्सिया श्रीमती भगवतीदेवी, १३ बर्सिया छोरी सीता र छोरा ८ वर्षका हर्कको मृत्यु भएको डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । त्यस्तै सोही ठाउँका प्रेम बोहराको घर भत्कँदा ५० वर्षीय बोहरासहित उनकी १४ वर्षीय छोरी तुलसी र उनको घरमा बस्न आएकी १४ बर्सिया धनसरि बोहराको घटनास्थलमै मृत्यु भएको छ ।


ईन्नरी देवी बोहरा, धौली बोहरा, सिस्ना बोहरा, चना देवी बोहरा, केशर सिंह बोहरा, जगु देवी बोहरा र महावीर बोहरा घाइते भएका छन् । घाइते मध्ये ४ जनालाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ । अन्य ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले घाइतेहरूको अवस्था सामान्य रहेको र जिल्ला बाहिर पठाउनु पर्ने अवस्था आएमा मन्त्रालयसँग समन्वयमा रहेको बताइन् । भूकम्पले सो गाउँका ८ घरमा पूर्ण रूपमा क्षति गरेको छ । जिल्ला अन्य केही ठाउँमा पनि घरहरूमा क्षति भएको खबर आएकाले पालिका मार्फत लगत सङ्कलन गर्ने कार्य भइरहेको प्रजिअ क्षेष्ठले बताइन् ।

हिजो राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । राति नै ९ बजेर ५६ मिनेटमा पनि ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । लगातारको भूकम्पले जोखिममा रहेका घर बिहान भत्किएको प्रहरीको भनाइ छ । आज बिहान बाजुराको खण्डभ्यू केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
