
रामहरि ओझा
२३ कात्तिक, डोटी
‘बिहान एक जना समानुपातिक उम्मेदवारसँग भेट भयो, उहाँले भोट माग्नु भयो, दिउसो अर्कोसँग भेट भयो उहाँले पनि भोट माग्नु भयो । राती खाना खाएर सुत्ने बेलामा अर्का एक जना उम्मेदवारले फोनबाटै भोट माग्नु भयो ।’
दिपायल सिलगढी नगरपालिका–६ का एक मतदाताले सुनाए । उनले भने ‘हाम्रो वडाबाट ६ जना समानुपातिक उम्मेदवार छन् । सवैले भोट माग्दैछन्, सवैलाई हुन्छ–हुन्छ वाहेक अरु केही भन्न सकिदैन,’ उनी व्यंग्य गर्दै थप्छन्, ‘अघिपछि जनताले गरेको नमस्कार पनि नफर्काउने नेताहरु चुनावको बेला नाता खोजेर ल्याउँदा रहेछन् ।’
प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट प्रशिश महराको नाम सूचीमा छ । कांग्रेस निकट नेपाल महिला संघको केन्द्रीय सदस्य महरा ०७४ सालको स्थानीय तह निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा सोही वडाबाट शशी सोबको नाम राखेको छ । एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सोव जिल्ला समन्वय समिति डोटीका निवर्तमान उपप्रमुख हुन ।
नेकपा माओवादी केन्द्रबाट दुई जनाको नाम प्रदेश समानुपातिक उम्मेदवारको सूचीमा छ । पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गिता नेपाली र पुर्णराज जोशीको नाम समानुपातिकको सूचीमा समावेश भएको छ । गिता अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् ।
०५४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भई नगर प्रमुखमा बिजयी भएका जोशी राजाको प्रत्येक्ष शासनको बेलामा मनोनित नगर प्रमुख भएका थिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका उनी करीव दुई महिनाअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
नेकपा एकिकृत समाजवादीले सोही वडाबाट सिता रायमाझीलाई समानुपातिक कोटामा उम्मेदवार वनाएको छ । रायमाझी एकिकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । ६ जनै उम्मेदवारको घर सिलगढी बजारमै पर्छ ।
यसका साथसाथै वडा फरक भए पनि सिलगढी बजारमै घर भएका कुमारसिंह टेलरको नाम पनि समानुपातिक सूचीमा छ ।
कांग्रेस निकट नेपाल दलित संघका केन्द्र्रीय सदस्य टेलरलाई प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा राखिएको छ । ०६४ सालको संविधान सभा निर्वाचनदेखि लगातार समानुपातिक सूचीमा पर्दै आएका टेलरले सांसद हुने अवसर भने पाएनन् । यसपाली उनी आशावादी देखिन्छन् ।

