भूकम्पमा परेर घाइते भएका दुई जनालाई हेलिकोप्टरबाट धनगढी लगियो

डोटी  : पुर्विचौकी गाउँपालिकामा भूकम्पले घर भत्काउँदा च्यापिएर घाइते भएका दुई जनालाई धनगढी रेफर गरिएको छ । जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि गैरा गाउँकी ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।  चनाको छातीमा हावा जमेको, चार वटा कुरङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको र बिष्नाको हात भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नीराजन श्रेष्ठले जानकारी दिए  । अन्य चार जना घाइते उपचार पश्चात् जिल्ला अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हिजो राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । राति नै ९ बजेर ५६ मिनेटमा पनि ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । लगातारको भूकम्पले जोखिममा रहेका घर बिहान भत्किएको प्रहरीको भनाइ छ । आज बिहान बाजुराको खण्डभ्यू केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
जिल्लामा निरन्तर भूकम्पको परकम्प गइरहेको बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला–बेला भूकम्पका स–साना परकम्प गइरहेको बताएको हो । प्राधिकरणले जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल रहेको बताउँदै सचेत रहन आग्रह गरेको छ ।
Sayalb
Shaileshwori
Loading...