
किरण धामी, डोटी
दिपायल सिलगढी नगर पालिकालाई सांस्कृतिक नगरका रूपमा विकास गर्न प्रक्रिया थालिएको छ । बिहीबार राष्ट्रिय योजना आयोगका सदस्य डा. राम फुयाँल, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहन देव विष्ट, नेपाल पर्यटन बोर्डका निर्देशक मणि राज लामिछाने लगायत जिल्ला स्थित बुद्धिजीवी समाजसेवी लगायतकासंग अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले नगर लाइ सांस्कृतिक नगर बनाउने कुरामा जोड दिएका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. राम फुयाँलले कार्यक्रममा उठेका सबै सुझाव सल्लाह सकारात्मक रहेको र कार्यान्वयन गर्ने बताएका छन् । शैलेश्वरीबाट मानिसको उत्पत्ति भएको केही ग्रन्थहरूमा उल्लेख रहेको कुरा कार्यक्रमका केही सहभागीले बताएका थिए । यसको अनुसन्धान गर्न डा. फुयाँलले बताएका छन् । यदि शैलेश्वरीबाट मानिसको उत्पत्ति भएको प्रमाणित भएमा विश्वको ध्यान डोटीमा केन्द्रित हुने उनले बताएका छन् । उनले डोटीमा राष्ट्रिय योजना आयोगबाट थुप्रै योजना परेको बताएका छन् । सडक, पालिका, स्वास्थ्य चौकी, विद्यालय, क्याम्पस लगायतका धेरै ठाउँमा योजना आयोगबाट रकम विनियोजन भएको बताए । शैलेश्वरीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गर्नुपर्ने सहभागीको मागमा आफू सकारात्मक रहेको उनले बताए । जसको लागि आवश्यक प्रक्रिया पुरा गर्न उनले नगरपालिकालाई आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहन देव विष्टले डोटीका धेरै योजनालाई पञ्च वर्षे योजनामा राखेको बताएका छन् । पञ्च वर्षे योजनामा सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय तथा धार्मिक स्थल खप्तड र सिलगढीमा रहेको शैलेश्वरी मन्दिरलाई पनि समेटेको उनले बताएका छन् । खुटिया, उरैभञ्ज्याङ सडकलाई सम्पन्न गर्न सके डोटी पर्यटकीय तथा व्यापारिक हब हुने उनको भनाइ छ । सडक निर्माण भएमा छिमेकी देश भारत तथा चीनका पर्यटक पनि सजिलै डोटी आउन सक्ने उनले बताए । अब छिट्टै प्रदेशका सबै जिल्लामा जिल्ला सम्मेलन गर्ने र योजना छनोट गर्ने उनको भनाई थियो । प्रदेश नीति तथा योजना आयोगको समन्वयकारी भूमिका रहेको बताउँदै आफूले त्यो भूमिका निभाउने उनले बताएका थिए ।


कार्यक्रमका सभापति दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि खड्काले संसारकै महँगो ढुङ्गा डोटीमा रहेको बताएका छन् । हिरा, मोती, सुन, चाँदी भन्दा बढी महँगो ढुङ्गा काइनस्ट्रोन डोटीको दुधेश्वरमा पाइन सक्ने सम्भावना रहेको प्रमुख खड्काले बताए । तर अनुसन्धान आवश्यक रहेको उनले बताएका छन् । महत्त्वपूर्ण वनस्पति डोटीमा पाइने बताउँदै प्रमुख खड्काले ती वनस्पति प्रशोधित गरेमा आर्थिक रूपमा पनि डोटी समृद्ध हुने बताए । योजना आयोगबाट प्राप्त हुने योजना जस्ताको जस्तै कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

केही गरेन भनेर नेतालाई मात्रै दोष दिन नहुने डोटी बहुमुखी क्याम्पसका उपप्रमुख अर्जुन देउवाले बताए । अन्तरक्रियामा भाग लिँदै देउवाले सबै भन्दा पहिला आफ्नो भूमिका के हो भन्ने पहिचान गर्नुपर्ने बताए । दुईचार पैसा कमाए तराइतिर झर्ने प्रवृद्धि रहेसम्म डोटीको विकास हुन नसक्ने उनको दावि छ । भाषण मात्रै गरेर विकास सम्भव नहुने भन्दै नीति र योजना बनाउन सरोकारवालालाई उनले अनुरोध गरे ।

डोटी लामो इतिहास बोकेको जिल्ला रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताएका छन् । धार्मिक तथा सांस्कृतिक रूपमा डोटी एक महत्त्वपूर्ण जिल्ला भएको भए पनि धेरैले अस्तित्व मेटाउने प्रयास गरेको भट्टले बताए । डोटी भन्दा पछि स्थापित भएका जिल्लामा ठुलो प्रगति भएको भए पनि डोटीको विकास हुन नसकेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई शैलेश्वरी क्षेत्र विकास समिति डोटीले नमस्ते सुदूरपश्चिम नामक किताब प्रदान गरेको थियो ।



