
कात्तिक २४, डोटी
राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालको सुरक्षित आप्रवासनका लागि लक्षित वर्गको क्षमता विकास परियोजनाको सामाजिक परीक्षण कार्यक्रम बिहीबार डोटीमा सम्पन्न भएको छ । यडब्लुओ ईन्टरनेशनल र निड्स नेपालको साझेदारीमा डोटी जिल्लाको आदर्श गाउँपालिकामा सञ्चालित सुरक्षित आप्रवासनका लागि लक्षित वर्गको क्षमता विकास परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको परियोजना अनुगमन तथा मूल्याङ्कन अधिकृत दिर्खराज ओझाले बताए ।
संस्थाले आदर्श गाउँपालिकामा सञ्चालन गरेका कामको बारेमा आम सेवाग्राही र सरोकारवाला निकायहरूलाई जानकारी गराई आगामी दिनका कार्यक्रम थप प्रभावकारी बनाउने उद्देश्यले सामाजिक परीक्षण गरिएको निड्स नेपालका परियोजना प्रबन्धक प्रकाशचन्द मडैले बताए । उनले भने हामीले यस पालिकामा गरेका सम्पूर्ण कार्यक्रमहरू स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालन गरेका थियौ आगामी दिनमा पनि नियमित समन्वय र सहकार्य रहने बताए । कार्यक्रममा संस्थाले एक वर्षको अवधिमा पालिकामा गरेका कार्यक्रमहरूको बारेमा जानकारी समेत गराएका थिए ।
पालिकामा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले गर्दा पालिकाको विकासमा सहयोग पुगेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । उनले भने पालिकाभित्र काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले परियोजनाको सामाजिक लेखा परीक्षण, सामाजिक परीक्षण गर्दा पारदर्शिता झल्किनुका साथै कामको प्रभावकारिता समेत देखिन्छ । त्यसैले पालिकाभित्र काम गर्ने जुनसुकै सङ्घ संस्थाहरूले लेखा परीक्षण, सार्वजनिक परीक्षण गर्न आवश्यक रहेको बताए । सङ्घ संस्थालाई गाउँपालिकामा काम गर्न आवश्यक सहयोग गर्नेछ । पालिकाले पनि वार्षिक रूपमा सुशासनका लागि अवलम्बन गर्नुपर्ने सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक लेखा परीक्षण जस्ता औजारहरूको अवलम्बन गर्ने समेत अध्यक्ष खड्काले बताए ।

निड्स नेपालले सञ्चालन गरेका कार्यक्रमहरूको बारेमा सेवा ग्राहीलाई जानकारी गराउनका साथै सेवा प्रवाहलाई थप गुणस्तर बनाउन सामाजिक परीक्षण जस्ता कार्यक्रमले सहयोग पुग्ने गरेको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायाले बताइन् । उनले भनिन् पालिकाको विभिन्न वडाहरूमा संस्थाले गरेको काम हेर्दा प्रभावकारी देखिन्छ आगामी दिनमा पनि महिलाहरूको क्षमता अभिवृद्धि हुनुका साथै आर्य आर्जनमूलक कार्यक्रमलाई प्राथमिकता दिँदा थप प्रभावकारी हुने बताइन् ।
परियोजना अन्तर्गत निड्स नेपालले आदर्श गाउँपालिकामा प्रत्येक वडाहरूमा महिला आप्रवासी समूह गठन र परिचालन, सुरक्षित आप्रवासन सम्बन्धी जनचेतनामूलक कार्यक्रम, मानव बेचबिखन रोकथामका लागि युवा अभियान, सरसफाइ सम्बन्धित अभिमुखीकरण, लक्षित वर्गलाई सीपमूलक तथा व्यावसायिक तालिम, बाख्रा पालनमा सहयोग लगाएका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
गाउँपालिकाको सभा हलमा सञ्चालन भएको सामाजिक परीक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, वडा सदस्यहरू, कर्मचारी, सेवा क्षेत्रका उपभोक्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार गणेश मौनीले गरेका थिए ।
