प्रमुख जिल्ला अधिकारीको टोलीले गर्‍यो भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

डोटी : प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगाएको टोलीले भूकम्प प्रभावित क्षेत्र डोटीको पूर्विचौकी गाउँपालिकाका विभिन्न ठाउँको स्थलगत निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहु, प्र.अ.अ. डिगम्वर गिरी, रेडक्रस सोसाइटीका सभापति लक्षि कुवर लगाएको टोलीले बिहीबार र शुक्रवार दुई दिन गैरागाउ, काडामाण्डौ र सिमलडाँडाको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा भूकम्पले घर भत्काउँदा  च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
मृतकका आफन्त पदम बहादुर बोहरालाई रु. ४ लाख, विस्नादेवि बोहरालाई रु. ३ लाख र  महावीर वोहराललाई रु. २ लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै पूर्ण क्षति भएका १८ घर परिवारलाई टेन्ट, व्लांकेट, खाद्यान्न उपलब्ध गराइएको छ । मृतकका परिवारलाई वितरण गरिएको रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रदान गरिएको  हो । सायल गाउँपालिकामा ३०/३० थान त्रिपाल र व्लांकेट पठाइएको र पुर्विचौकीको सिमलडाडाका १० घर परिवारलाई कार्तिक २६ गते राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
स्थानीय तहको प्राविधिक, नजिकको प्रहरी इकाई र रेडक्रसको संलग्नतामा भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको प्रशासनले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयका साथै  भौतिक क्षतिको सर्भे, मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको पनि जनाइएको छ । भूकम्पबाट जिल्लाका अन्य पालिकाहरूमा घरहरू चर्केको तथा भत्केको भए पनि पूर्वीचौकी र सायल गाउँपालिकामा बढी भौतिक क्षति पुगेको छ ।  पूवीचौकी गाउँपालिकामा मान्छे नबस्ने  दुई घर सहित ३० घरमा पूर्ण क्षति  भएको छ भने अन्य धेरै घरहरू चर्केको निरीक्षण टोलीले जनाएको छ ।  बुधवार बिहान खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि पुर्विचौकी गाउँपालिकाका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।
Sayalb
   
Shaileshwori
Loading...