गणेश मौनी, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरा गाउँका भूकम्प पीडितहरूलाई कृष्ण कँडेल इन्द्रेणी फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा फाउन्डेसनका अध्यक्ष कृष्ण कँडेल, सामाजिक गायिका कृष्णा बजगाईँ र प्राविधिक प्रमुख दीपक घिमिरे सहितको टोली सोमबार गैरा गाउँ पुगेर स्थलगत रिपोर्टिङ सहित आथिक सहयोग गरेको फाउन्डेसनका अध्यक्ष कृष्ण कँडेलले बताए ।
फाउन्डेसन मार्फत पूर्ण रूपमा क्षति भएका २६ घर परिवारलाई ६ लाख १५ हजार रुपैयाँ स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा घर भत्केका, सुत्केरी, क्रियापुत्री, पीडितहरू लगायतलाई सहयोग रकम हस्तान्तरण गरिएको समेत अध्यक्ष कँडेलले बताए । भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्म विभिन्न सरकारी गैरसरकारी सङ्घ संस्थाहरूले विभिन्न राहत स्वरूप सहयोग गर्दै आइरहेको भएपनी सरकारी स्तरबाट प्रभावितहरूको स्थायी तथा अस्थायी बसोबासको लागि कुनै ठोस पहल हुन नसक्दा प्रभावितहरू चिसोमा सामान्य रूपमा बस्न बाध्य भएका छन् ।
जसका कारण वृद्धा, महिला, बिरामी तथा बालबालिकाहरूमा थप समस्या भएको स्थानीय वासीहरूको भनाई छ । कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबा आश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी ३ मा दर्जनौँ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।