
डोटी : डोटीका भूकम्प पीडितलाई सामुदायिक विकास केन्द्र डोटीले अस्थायी टहरा निमार्णको लागी त्रिपाल सहयोग गरेको छ । जिल्लाको पुर्विचौकि गाउँपालिका वडा ७ पोखरीका २५ घर धुरीलाई त्रिपाल सहयोग गरेको हो ।
सहमति/लुथरन वर्ल्ड रिलिफ र युएसएआईडिको सहयोग तथा जिल्ला विपद् व्यवस्थापन समिति र पुर्विचौकि गाउँपालिकाको समन्वयमा वडा अध्यक्ष प्रेम बहादुर खड्कालाई त्रिपाल हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हेम राज जोशीले जानकारी दिनुभयो । जाँडोकोबेला भूकम्पका कारण घर चर्केर बस्नै नमिल्ने भएको बेला सामुदायिक विकास केन्द्र डोटीले गरेको सहयोगले केही राहत महसुस भएको पोखरीका स्थानीय नन्दा लुहारले बताउनुभयो ।

वडा अध्यक्ष प्रेम बहादुर खड्काका अनुसार कात्तिक २३ र त्यस पछि आएका पराकम्प बाट पूर्वीचौकी गाउँपालिका वडा ७ मा मात्र ६९ घर उच्च जोखीम, २६० घर जोखिम र १५० घर चर्केका छन् । कात्तिक २३ गते बिहान खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र विन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प बाट जिल्लाभर ठुलो क्षति भएको छ ।
