
डोटी : मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै एक दिन जिल्लाभित्र सवारी आवागमन निषेध गरिने भएको छ । मङ्सिर ३ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म एक दिन अनुमति लिनु नपर्ने अत्यावश्यक सेवाका सवारी साधन तथा अनुमति पत्र प्राप्त सवारी साधनहरू बाहेक सबै किसिमका सवारी आवागमन निषेध गरिने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ बमोजिम सवारी आवागमन निषेध गरिने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । सूचना विपरीत कसैले सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो ।


