गणेश मौनी
मङ्सिर ११, डोटी
डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरा गाउँका भूकम्प पीडितहरू भूकम्प गएको तिन साता बित्दा पनि त्रिपालमुनि बाँस बस्न बाध्य रहेका छन् । तत्कालको लागि राहत र अस्थायी बसाई व्यवस्थापनको लागि स्थानीय सरकार विभिन्न सङ्घ संस्थाहरूले खाद्यान्न, त्रिपाल लुगा कपडा भाडाकुडाको व्यवस्थापन गरीपन हाल सम्म अस्थायी टहरा र स्थायी पुननिर्माणको लागि भने कुनै टुङ्गो लागेको छैन ।
स्थायी पुन निर्माणको लागि प्रदेश सरकार, संधिय सरकार र विभिन्न निकायहरू सँग समन्वय भइरहेको भए पनि कसले बनाउँछ भन्ने विषयमा हाल सम्म कुनै टुङ्गो नलागेको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । स्थलगत अनुगमनको लागि यसै साता भित्र प्राधिकरणकाको टोली आउने जानकारी छ आउँछ आउदैन अहिले नै भन्न सकिदैन् अध्यक्ष उपाध्यायले बताए ।
स्थानीय सरकारले अस्थायी टहरा निमार्ण गर्ने : उपाध्याय
भूकम्प प्रभावितहरूका लागि पुर्बिचौकी गाउँपालिकाले अस्थायी टहरा निमार्ण गर्ने गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । गाउँपालिका अन्तर्गतका सयौँ घरपरिवार भूकम्पबाट प्रभावित छन्, हिउँदको चिसो समय सुरु भइसकेको छ त्यसैले तत्कालको लागि पालिकाले अस्थायी टहरा निमार्णको लागि पहल गर्ने बताए ।
पुर्बिचौकी गाउँपालिका अन्तर्गत १ हजार ११ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने त्यस्तै १ सय २० घर भत्केका, ३ हजार ३७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका समेत अध्यक्ष उपाध्यायले बताए । पूर्ण रूपमा भत्केका व्यक्तिहरूको घर पुनर्निर्माण गर्नका लागि प्राधिकरण, प्रदेश सरकार, सङ्घीय सरकार, विभिन्न गैरसरकारी सङ्घ संस्थाहरू सँग पनि समन्वय र सहकार्य भइरहेको समेत अध्यक्ष उपाध्यायले बताए । गाउँपालिकाले पहिलो चरणमा १ सय २० वटा अस्थायी टहरा पुस महिना भित्र निमार्ण गर्ने लक्ष्य रहेको समेत बताए ।
भूकम्प पीडित भन्छन् घर निमार्ण गरी दिए हुन्थ्यो । पुर्बिचौकी गाउँपालिका ३ गैरा गाउँका भूकम्प पीडितहरूले आवास निमार्ण गरिदिन सबैलाई आग्रह गरेका छन् । भूकम्पमा परि तिन परिवार गुमाएका पदम सिंह बोहराले पनि आवास पहिलो आवश्यकता भएको बताए । उनले भने हाम्रा आवश्यकता धेरै छन्, म सँग केही छैन, लुगा कपडा, खाद्यान्न त विभिन्न सङ्घ संस्था पालिकाले दिइरहेको छ तर त्यो भन्दा पनि मुख्य आवश्यकता भनेको बस्नको लागि घर हो, न परिवार छ, न घर छ, बेवारिसे जस्तै जिन्दगी, पिडा नै पिडामा बाचेको छु । कात्तिक २२ गते गएको भूकम्पमा पदमले एक श्रीमती, एक छोरा र एक छोरी गुमाएका थिए । हाल उनी सँग ६६ वर्षकी आमा र ११ वर्षकी छोरी मात्र छन् ।
उनी मात्र होइनन् अर्का भूकम्प पीडित सोही गाउँकी वर्ष ६४ की भगु देवी बोहराको पनि उही आवश्यकता छ, घर निमार्ण । उनी भन्छिन् त्रिपालको बास छ, चिसो समय सुरु भइसक्यो, मरिन्छ की बाचिन्छ, थाहा छैन, अन्नपात नभए अरू गाउँले आफन्तहरू सँग सापट गर्न सकियो घरै छैन के गर्नु कहाँ जानु । आँखा भरी आशु झार्दै उनी भन्छिन् भूकम्पमा म पनि गइदिएको भए आराम हुन्थ्यो यस्ता दुःख भोग्नु भन्दा ।
उनी मात्र होईन्न् त्रिपालमुनि बास बसेका सबै भूकम्प पीडितको चिन्ता के खाउ केलाऊ भन्दा पनि हिउँदको चिसो कसरी छिचोल्ने मात्र छ । त्यसैले भूकम्प पीडितहरूले सरोकारवाला निकायलाई छिटोभन्दा छिटो पुनर्निर्माणको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
गृह र प्राधिकरणको प्राविधिक टोली डोटी आउँदै– भट्टराई
गृह मन्त्रालय र राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली यसै साता डोटी आउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रबत्ता डा। डिजन भट्टराईले बताएका छन् । उनले भने प्राधिकरणको टोली पहिले नै डोटी आउने भनेको तर प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यहरूको निर्वाचनको कारणले गर्दा केही ढिलाइ भएको हो सम्भवतः टोली भोलि नै डोटीको लागि हिड््छ । प्राविधिक टोलीले स्थलगत निरीक्षण पश्चात् मात्र के कति घरमा क्षति पुगेको छ, सम्पूर्ण रूपमा अध्ययन गरी, स्टेटमेन्ट तयार गरी के कति नयाँ घर निमार्ण गर्नुपर्ने अनि योजना र आवश्यक बजेट व्यवस्थापन पछि मात्र कहिले सम्म पुनर्निर्माण गर्न सकिन्छ भन्न सकिने बताए ।
डोटीमा गएको भूकम्पले डोटी लगायत बझाङमा पनि क्षति भएकोले टोली सबै ठाउँमा जाँदा, रिपोट तयार गर्दा १,२ महिना समय लाग्ने र त्यसपछि स्थायी पुनर्निर्माणको लागि पहल गरिने बताए । अस्थायी आवास निमार्णको लागि जिल्ला प्रशासन मार्फत तत्कालै प्रति घरपरिवारलाई ५० हजारका दरले सहयोग गर्न सकिने समेत प्रबत्ता भट्टराईले बताए । २०७९ कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबा आश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ मा दर्जनौँ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । उत्त क्षेत्रमा अहिले विभिन्न दातृ निकाय, गैरसरकारी सङ्घ संस्थाहरूले विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ ।