
गणेश मौनी, डोटी
डोटी जिल्लामा पछिल्लो समयमा किसानहरू अलैचि खेतीलाई व्यवसायी रूपमा गर्दै आइरहेका छन् । अलैँची खेतीको लागि उच्च सम्भावना रहेकोले डोटीका बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकाका केही किसानहरू अलैचि खेतीलाई व्यवसायी रूपमा अघि बढाएको पाइन्छ ।
हावापानी र जमिनको भू-बनोट अनुसार अलैँची राम्रो उत्पादन हुने गरेको जोरायल गाउँपालिका-७ का कृषक राम बहादुर बोहराले बताए । उनी भन्छन् अलैँची खेती सुरुवातमा थोरैबाट सुरु गरेको थिए, हाल दुई हजार भन्दा बढी बोटाहरु छन् । आम्दानीको राम्रो श्रोत बनेको छ । खेतीलाई व्यवसायी रूपमा अघाडी बढाइरहेको समेत बोहराले बताए ।

बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीका केही किसानहरू पनि अलैँची खेतीलाई व्यवसायी रूपमा अघाडी बढाइरहेका छन् ।
अलैचि खेती गर्दा छोराछोरीलाई पढाउन, लेखाउनमा सहयोग हुनका साथै घर खर्च धान्न पनि सहयोग पुगेको बत्ताउँछन् बडीकेदार ४ का कृषक घन बहादुर मौनी । उनी भन्छन् अलैचि निकाल्ने समयमा मात्र अलि मेहनत गर्नुपर्छ अरू समयमा त कुनै दुख र मेहनत गर्नु पर्दैन । हाल उनले एक हजार भन्दा बढी बोटाहरु लगाउनुका साथै अलैँचीका बोटाहरु बिक्री वितरण गर्ने गरेको समेत बताए । गाउँघरको मूल्य अनुसार बार्षि करिब ४०,५० हजार बराबरको बिक्री गर्ने गरेको समेत बताए ।
उनी मात्र होइनन् अलैँची खेतीलाई व्यवसायी रूपमा अघाडी बढाइरहेका वडीकेदार ४ का अर्का किसान भक्त जेठराले पनि अलैचि खेतीबाट फाइदा हुने गरेको बताए । उनी भन्छन् थोरै लगानी र थोरै मेहनतमा धेरै आम्दानी हुने खेतीको रूपमा अलैचि पर्ने गरेको समेत बताए । अलैँची खेतीलाई थप बिस्तार गरिरहेको समेत बताए ।

गत आर्थिक वर्षको समयमा बडीकेदार ४ का अधिकांश किसानहरूले कृर्षि ज्ञान केन्द्रको सहयोगमा अलैचिका बोटाहरु लगाएका थिए । डोटी जिल्लामा अलैँची खेतीको राम्रो सम्भावना रहेको बताउन्छन कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरु । उनी भन्छन् डोटी जिल्ला खाद्यान्न बालिभन्दा फलफूलको राम्रो सम्भावना रहेको छ । त्यसमा पनि केही पालिकाहरू अलैँची खेतीको लागि उच्च सम्भावना युक्त छन् । डोटी जिल्लामा अलैँची प्रवर्द्धन कार्यक्रम अन्तरगत पुर्बिचौकी, जोरायल, बडीकेदार र केआई सिंह गाउँपालिकामा सहयोग गरिरहेका समेत प्रमुख पनेरुले बताए ।

अलैँची खेतीका लागि हावापानीको हिसाबले मध्यम पहाडी जिल्लाहरूमा लगाउन उपयुक्त हुने भएकोले डोटी जिल्ला पनि सम्भावित जिल्ला अन्तर्गत पर्दछ । डोटीको पुर्बिचौकी, जोरायल, बडीकेदार र केआई सिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिका उच्च सम्भावना युक्त ठाउँ रहेकोले उक्त क्षेत्रका किसानहरूलाई व्यवसायी रूपमा अलैचि खेती गर्न प्रमुख पनेरुले आग्रह समेत गरेका छन्, कृषि ज्ञान केन्द्रले अलैँची व्यवसायी किसानहरूलाई सहयोग गर्ने समेत बताए ।
डोटी जिल्लामा अलैँची खेती ३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ । जसमा १ मेट्रिक टन उत्पादन र ०.३ मेट्रिक टन उत्पादकत्व रहेको समेत ज्ञान केन्द्रले जानकारी दिएको छ ।

